Monday, February 29, 2016

एक कप चिया र एक ट्वाँक रक्सी !


हिजो आज !
भुन्टीको चियापसलमा भन्दा
साँइलीको भट्टीपसल ज्यादै
भिडभाडपूर्ण देखिन्छ
एउटै आमाका यी दुई तरुनी छोरीहरु
आफैंमा दङ्ग पनि छन्
भीड जम्मा गराई गफ गराउने भुन्टी
उही भीडमा खलबल मचाउने साँइली
फरक यत्ति मात्र हो
विहान भुन्टीको कब्जामा छ भने
साँझ साँइलीको कब्जामा
तर पनि बन्द र चाडवाडका दिन
यी दुवै कहिलेकाँही पूर्पूरोमा हात पनि
लगाइरहेका देखिन्छन्
र आफैंमा प्रश्न गर्छन्
'मेरो भन्दा साँइलीको व्यापार बढी छ'
'मेरो भन्दा भुन्टीको व्यापार कम छ'
त्यस्तैमा कहींबाट उत्तर आउँछ
'एक कप चियाले अण्डा र चना तान्ला ?
तर एक ट्वाँकले भट्मासदेखि रोष्ट माग्छ !'
केहि दिनपछि भुन्टीपनि भट्टीपसलमा देखिन्छे
दुवैको व्यापार आजकाल
निकै चकाचक छ ! ! !

२००५-०४-१९, बबरमहल, काठमाण्डौ ।