Wednesday, March 30, 2011

एक कप चिया !


ऊ त्यहाँ चियापसल रै'छ
जाउँ न एक कप चिया पिउँ - एकै कप !

किन पीउने चिया ?
ऊ मेरो विपक्षमा छ
थोत्रा रिक्साहरु यताउता कुदिरहेका छन्
बन्दको असिमित माहौलमा
हो ! मैले मात्रै किन चिया पीउनुपर्ने ?

किन नपीउने चिया ?
ऊ मेरो पक्षमा छ
नयाँ कोट र थोत्रा विचारहरु द्वन्द गर्दैछन्
बन्द खुलेको सीमित माहौलमा
हो ! मैले मात्रै किन चिया नपीउने त ?

के पाइन्छ ? चिया पीएर !
ऊ मेरो विपक्षमा छ
काठी परेका हातहरु संघर्षरत काममा छन्
अहिले खाए - भरे के खाँउ भन्ने माहौलमा
हो ! मैले मात्रै किन चिया पीउनुपर्ने ?

के छैन र चियामा ?
ऊ मेरो पक्षमा छ
सुकोमल हात र सुडौल पाखुराहरु टाँसिएका छन्
चिन्ता विहीन माहौलमा
हो ! मैले मात्रै किन चिया नपीउने त ?

द्वन्द र वर्तमानको यो संघारमा
म आफैं विचलित छु
आखिर एकै कप चिया त हो !
जे भएपनि तलतल मेट्नै पर्छ
म त चिया पीउँछु - मात्र एक कप !

२०६१-११-१५, विराटनगर ।